प्रीयसी मनुलाई अन्तिम पत्र

“मनु ! जब जब कोही मानवले अमानवीय व्यवहार गर्छन् तिनै मानवसँग जसले जिन्दगीका निकै महत्वपूर्ण हिस्सा उसको खातिर खेर फालिदिएको हुन्छ तव तव घात र प्रतिघातका उच्श्रृंखल र फोहोरी खेल चलिरहने रहेछ । सर्वस्व सुम्पेर जिन्दगी अर्पेको मान्छेले अकल्पनीय स्तरको घात गरेपछि अरूलाई सचेत गराउँदै हिँड्ने मान्छेको पनि नशा सारथी बन्दोरहेछ । जीवन छोट्टिँदै जाँदा पलपल पीडा दिने पलहरू केही हदसम्म भुल्न साथ दिने नशापनी जीवन नै लुट्न लागिपर्दा रहेछन् र जीवनको अत्य अत्यावश्यक हुँदोरहेछ । र त आज मृत्युको पूर्वार्द्दमा म जीवनकै अन्तिम पटक तिमी र तिम्रा यादहरू छरपस्ट जिन्दगीका बाँकी रहेका पन्नामा छर्ने जमर्को गरिरहेको छु । एक झिल्को प्रेमले जीवनबाग नै सखाप बनाइदियो म एक भुलको सजायमा अर्पिदै गरेको जिन्दगी प्रति कुनै गुनासो राख्न सक्दिनँ किनकि हरमोडमा प्रेम खोज्नु जिन्दगीलाई धोका दिनु रहेछ आज बल्ल थाह पाएको छु मनु !”

                                                                                                        -अमन ‘एकल ‘

प्यारी मनु !

सम्बोधनमा तिम्रा लागि भेटिने शब्द सायद शब्दकोशले मेरा लागि हटाइदिएछन् र त बिना सम्बोधन नै सुरु गरेको छु जीवन अन्त्यष्ठीका हरफहरू । यसो गरिरहँदा म तिमीसँग माफीको लागि अनुनय पनि गर्न सक्दिनँ किनकि माफी माग्ने आधारका किल्लाहरू तिमीले नै तोडेर खुशीका पहाडहरू भत्काउने चोटका बाढी र पहिरोको चाहना तिमीले नै गरेकी हौ ।

दिनले रातसँग पराजित हुनुपूर्व धर्तीमा चम्किलो अनुहार प्रस्तुत गरेझैँ ,दीपकले निभ्नुपूर्व प्रभावशाली प्रकाश छरेझैँ, फूलले झर्नुपूर्व सुरजको अन्तिम दर्शन गरेझैँ , जिन्दगीको निकै अनुपम पल सकिनुपूर्व जिन्दगीको शब्दकोशबाट केही थान शब्द सापटी लिएर परलोकको दर्शनमा लालायित भएका पैतालाहरूलाई केही पल बिश्रामको बन्दी बनाएर अधुरो अपुरो कथाको केही अंश उतारेर तिम्रो सम्झनामा जीवनका चारै फेरा पकडेर एउटा गोलाकार परिधिभित्र तिता मिठा अनुभूतिहरूलाई नजरबन्दमा राख्दै अन्तिम कोसेली पठाउने जमर्को गरिरहेको छु ।

मनु ! भेटिनु र छुटिनु त जीवनको रीत नै हो यसमा गुनासो गर्नु लाभदायक हुँदैन तर जहाँ स्वार्थले मिलनलाई बिछोड र वियोगमा पुर्याउछ अझै भनौँ जिन्दगी नै लुट्ने बिछोडलाई मैले रीत हो भनेर कसरी स्विकार्नु ? एक धर्को जिन्दगीमा डिक लगाउनुपूर्व म यिनै जिन्दगीमा मैले गरेका गल्ती र तिमीले उठाएका लाभांशहरूको लेखाजोखा गरेर छाड्न चाहन्थेँ । धन र स्वार्थमा बिक्री भइरहेको अस्तित्वमा अर्को औंला खडा हुनुपूर्व चेतनाको दीपकले अन्तिम पटक तिम्रो जिन्दगीको आँगनीमा रोशनी छर्न चाहेको छु ।

जीवनको उतरार्धमा परेलीका बाँधहरू भत्काएर गालाका फाँटहरूमा अझै अरू सिँचाइ गर्नु महामुर्खता बाहेक अरू केही हुनसक्दैन त्यसैले नयनका छिमेकी बनेर बसेका निला गहिरा तालहरु आफ्नो गहिराई दिनानुदिन बढाउने चक्करमा लागिरहँदा मुस्किलले धमिला देखिँदै गरेका अक्षरपुञ्ज बाट दुई चार अक्षर चोरी गरेर दुरुपयोगको दुस्साहस गरिरहेको छु ।

“दिनले रातसँग पराजित हुनुपूर्व धर्तीमा चम्किलो अनुहार प्रस्तुत गरेझैँ ,दीपकले निभ्नुपूर्व प्रभावशाली प्रकाश छरेझैँ, फूलले झर्नुपूर्व सुरजको अन्तिम दर्शन गरेझैँ , जिन्दगीको निकै अनुपम पल सकिनुपूर्व जिन्दगीको शब्दकोशबाट केही थान शब्द सापटी लिएर परलोकको दर्शनमा लालायित भएका पैतालाहरूलाई केही पल बिश्रामको बन्दी बनाएर अधुरो अपुरो कथाको केही अंश उतारेर तिम्रो सम्झनामा जीवनका चारै फेरा पकडेर एउटा गोलाकार परिधिभित्र तिता मिठा अनुभूतिहरूलाई नजरबन्दमा राख्दै अन्तिम कोसेली पठाउने जमर्को गरिरहेको छु ।”

मनु ! सायद तिम्रो जिन्दगीको ओठहरूमा खुसीले पोतिएको मुस्कानका कथाहरू पढ्न सक्दिनँ होला तर मेरो जिन्दगीको आँखाहरूबाट बगेका दर्दमा तिम्रा खुसीका चाहनाहरू छरपस्ट छरिएका सहजै नियाल्न सक्छौ । मलाई पश्चाताप छँदै छैन अहँ पछुतो मानेकै छैन सुखका काखहरू दूर पुगेर के भो र दर्दका हत्केलाले सुम्सुम्याएकै छन्  । मेरा औंलामा गन्न भ्याईने कपालका त्यान्द्राहरु ,कत्ति बिचलित नभएर थामेको छ एक पावा मुटुले आफू भन्दा करोडौं गुणा ज्यादा दर्दका पहाडहरू आफ्नो छातीमा अनि परेलीभित्र लुकाएर आँसुका महासागर छरेकै छन् दुई केस्रा ओठहरूले फिक्का हाँसो पक्का हो त्यो मुस्कान झुटो छ तर तिम्रो झैँ कुटिल छँदैछैन ।

एक अम्खोरा जिन्दगी जिउने लालसाले महासागर नै लत्याईएको बल्ल थाहा पाएँ तर निकै अबेर भैसकेछ पश्चिमा सूर्यले बिदाइको हात हल्लाईसकेको रहेछ सन्ध्याले निष्पट्ट कालो रातसँग पराजय भोगिसकेको रहेछ करेसामा मुर्कुट्टाहरुले अर्को महफिल चलाइसकेका रहेछन् । जिन्दगीका तारेभिरहरुमा लागेका खुशीका गट्टाहरु एकपछि अर्को गर्दै हत्याका शिकार भएका छन् र त जबर्जस्ती अक्षरहरूको हत्या गराएर आफ्नो प्यास मेटाउने तरखरमा छु । हत्याराको बिल्ला लगाइरहँदा तिम्रा निकै प्रेमिल उपहारहरू घृणा, तिरस्कार ,बेइज्जती ,अपमान सबै सबै मानसपटलमा भुईँचालो पछिको बस्तीझैँ कोलाहल मच्चाईरहेछन् काश: तिनै भुईँचालो मध्य एक मेरा लागि स्वर्ग या नर्कको खुल्ला बाटो बनेर पहिल्यै आउँथ्यो त ! जिन्दगी कहाँ यति सहज हुँदोरहेछ र मनु !

भोकले भोजन, रोगले औषधी, निन्द्राले बिछ्यौना, जिन्दगीले प्रेम किन खोजेको होला ? प्रश्नै प्रश्नको महादीपमा उक्लिएर आज आफैँ प्रश्न बनेर खडा भएको छु । त्यो एक काल खण्डपछि जिन्दगीले मृत्युलाई निकै प्यारो मानेको छ र त लाचार कायर झैँ बारम्बार आत्महत्याको प्रयासमा जुट्छ । सोचौली निकै कायर बनेछ तर म कायर होइन हुँदै होइन मैले आत्महत्या सोच्नैँ सक्दिनँ जिन्दगीले जिन्दगी देखि बिदाइ गर्न खोजेको मात्रै हो।

मनु ! सायद यो तिमी र म बिचको अन्तिम वार्तालाप गर्ने आधार अझ भनौँ तिम्रा लागि अन्तिम नमिठो याद पनि हुन सक्छ, तिमीले यसलाई बेवास्ता गर्न सक्छौ तर यति बुझेको छु तिमीले अवश्य पढ्नेछौ पढेर मनन नगर्न त तिमीलाई मैले भन्नै पर्दैन ! एक खिल्ली जिन्दगी बाँकी रहँदा अझ भनौँ जिन्दगीले अन्तिम सर्को लिँदै गर्दा तिम्लाई सम्झिन सिवाय अरू केही गर्न सक्दिनँ म ।

“एक अम्खोरा जिन्दगी जिउने लालसाले महासागर नै लत्याईएको बल्ल थाहा पाएँ तर निकै अबेर भैसकेछ पश्चिमा सूर्यले बिदाइको हात हल्लाईसकेको रहेछ सन्ध्याले निष्पट्ट कालो रातसँग पराजय भोगिसकेको रहेछ करेसामा मुर्कुट्टाहरुले अर्को महफिल चलाइसकेका रहेछन् । जिन्दगीका तारेभिरहरुमा लागेका खुशीका गट्टाहरु एकपछि अर्को गर्दै हत्याका शिकार भएका छन् र त जबर्जस्ती अक्षरहरूको हत्या गराएर आफ्नो प्यास मेटाउने तरखरमा छु । हत्याराको बिल्ला लगाइरहँदा तिम्रा निकै प्रेमिल उपहारहरू घृणा, तिरस्कार ,बेइज्जती ,अपमान सबै सबै मानसपटलमा भुईँचालो पछिको बस्तीझैँ कोलाहल मच्चाईरहेछन् काश: तिनै भुईँचालो मध्य एक मेरा लागि स्वर्ग या नर्कको खुल्ला बाटो बनेर पहिल्यै आउँथ्यो त ! जिन्दगी कहाँ यति सहज हुँदोरहेछ र मनु !”

 नयनका तालहरुमा जिन्दगी निल्याल्ने भूलले आज जिन्दगीकै दूर दराजमा लगेर फ्याँकिएको छु कहिल्यै नफर्किने गरी ! मेरो आत्माले अर्को दुनियाँ अवलोकन गर्नुपूर्व , मेरा बाबाआमाले रातो बाकसमा आफ्नो स्वाभिमान बोकेर हर प्रहर उदाउँने साख देख्नुपूर्व , तिम्रो धोकामा लिने गरेको नशाले जिन्दगीमाथि बिजय प्राप्त गर्नुपूर्व नाइँ र बचाउका हार गुहार गर्दागर्दै पनि यी निर्दोष अक्षरहरूको हत्या गर्न जुटेको छु । शायद मेरो विरासत ढलेपछि कैयन अक्षरहरूले तिम्रा बस्तीमा अनेकन उत्सव मनाउने छन् झन्डै एक पसर पानी अडिन सक्ने तिम्रा गालाका दुई खोपिल्टाहरुमा तछाडमछाड गर्दै भरिएर,ओठका दुवै बगानमा जीवन्त खुशीका राता रङ्ग भरेर , दुवै नशालु नयनका फाँटहरूमा विजयको तोरण टाँगेर , चेहरामा उत्साहको रौनक थपेर यस्तो उत्सव मनाउने छन् त्यस्तो उत्सव मैले मेरो जिन्दगी कहीँ कतै देखेकै छैन ।

भन्नेले प्रेमले जीवन दिन्छ किन भन्दिए ? भनेर निकै बर्ष गमेपछि आज यो निचोडमा पुगेँ कि जस्ले भन्यो या त उसले प्रेमलाई चिनेन या त कोही कसैलाई गुमाउनु परेन यदि प्रेम चिनेको हो भने वा कोही आफूले प्रेम गरेको मान्छे गुमाएको थियो भने प्रेमको गलत परिभाषा पक्कै दिँदैनथ्यो होला । आमा सर्वत्र महान बन्दिनन् कहीँ कतै स्वार्थले पतित पनि बनेकी छिन् भन्ने उदाहरण नाबालक सन्तान छोडेर अर्कै लोग्नेमानिसको नवदुलही बनेका केही निर्लज्ज नारीलाई लिन सकिन्छ । बाबुले सदा कर्तव्यबोध मात्रै गर्दैनन् कुकर्महरुको खेती पनि गर्छन् भन्ने उदाहरण नाबालक छोरी बलात्कार गरेका पिपासु लोग्नेमान्छेलाई लिन सकिन्छ । अनेकौँ बाधा अड्चनका बाबजुद पनि सन्तानको उचित रेखदेख गरेका आमाबाबु बुढेसकालमा बृद्दाश्रममा फ्याँकिन्छन् त्यस्ता सन्तानलाई नालायक कपुतमा लिन सकिन्छ । यस्तै हरेक नाता र सम्बन्धको फाइदा उठाएर निभाउँन नखोज्ने हरेक व्यक्ति एउटा सच्चा व्यक्तिको नजरमा दोषी नै हुन्छ ।

मनु ! जब जब कोही मानवले अमानवीय व्यवहार गर्छन् तिनै मानवसँग जसले जिन्दगीका निकै महत्वपूर्ण हिस्सा उसको खातिर खेर फालिदिएको हुन्छ तव तव घात र प्रतिघातका उच्श्रृंखल र फोहोरी खेल चलिरहने रहेछ । सर्वस्व सुम्पेर जिन्दगी अर्पेको मान्छेले अकल्पनीय स्तरको घात गरेपछि अरूलाई सचेत गराउँदै हिँड्ने मान्छेको पनि नशा सारथी बन्दोरहेछ । जीवन छोट्टिँदै जाँदा पलपल पीडा दिने पलहरू केही हदसम्म भुल्न साथ दिने नशापनी जीवन नै लुट्न लागिपर्दा रहेछन् र जीवनको अत्य अत्यावश्यक हुँदोरहेछ ।
र त आज मृत्युको पूर्वार्द्दमा म जीवनकै अन्तिम पटक तिमी र तिम्रा यादहरू छरपस्ट जिन्दगीका बाँकी रहेका पन्नामा छर्ने जमर्को गरिरहेको छु । एक झिल्को प्रेमले जीवनबाग नै सखाप बनाइदियो म एक भुलको सजायमा अर्पिदै गरेको जिन्दगी प्रति कुनै गुनासो राख्न सक्दिनँ किनकि हरमोडमा प्रेम खोज्नु जिन्दगीलाई धोका दिनु रहेछ आज बल्ल थाह पाएको छु मनु !

यो बाटोबाट फर्केर आएका कोही छैनन् शायद म पनि कहिल्यै फर्किने छैन नयाँ जन्म नयाँ परिचय भन्नू बाचुन्जेलको लागि लालसाको भ्रम न हो । स्कुले जीवनमा सुरुवात गरेको सामाजिक कुरिती र अन्यायको विरोधमा लड्ने काम अधुरो रह्यो , आमाबाबु र समाजप्रतिका अनेकौँ जिम्मेवारीहरू अपुर्ण नै भए ।बल्लतल्ल पाएको यौटा चोला नाथे प्रेमले लगेर भड्खालामा जाकिदियो कहीँ कतैबाट उम्कने उपायनै भएन अब त उम्कने प्रयास गर्नु पनि बेबकुफिपना हो भन्ने बुझिसकेको छु ।

“नयनका तालहरुमा जिन्दगी निल्याल्ने भूलले आज जिन्दगीकै दूर दराजमा लगेर फ्याँकिएको छु कहिल्यै नफर्किने गरी ! मेरो आत्माले अर्को दुनियाँ अवलोकन गर्नुपूर्व , मेरा बाबाआमाले रातो बाकसमा आफ्नो स्वाभिमान बोकेर हर प्रहर उदाउँने साख देख्नुपूर्व , तिम्रो धोकामा लिने गरेको नशाले जिन्दगीमाथि बिजय प्राप्त गर्नुपूर्व नाइँ र बचाउका हार गुहार गर्दागर्दै पनि यी निर्दोष अक्षरहरूको हत्या गर्न जुटेको छु । शायद मेरो विरासत ढलेपछि कैयन अक्षरहरूले तिम्रा बस्तीमा अनेकन उत्सव मनाउने छन् झन्डै एक पसर पानी अडिन सक्ने तिम्रा गालाका दुई खोपिल्टाहरुमा तछाडमछाड गर्दै भरिएर,ओठका दुवै बगानमा जीवन्त खुशीका राता रङ्ग भरेर , दुवै नशालु नयनका फाँटहरूमा विजयको तोरण टाँगेर , चेहरामा उत्साहको रौनक थपेर यस्तो उत्सव मनाउने छन् त्यस्तो उत्सव मैले मेरो जिन्दगी कहीँ कतै देखेकै छैन ।”

साँच्चै मनु !अब बज्नेछैनन् साल र पिपिरीका पातमा प्रेमका भाकाहरू अनि न्याउली र कोइलीका स्वरहरू गुन्जिने छैनन् बिरही गीतमा मेरो लयमा लय खापेर अनि रुवाउने छैन गाउँघरको मन । रातो बाकसमा म आफैँ भरिएर फर्कँदा जिम्मेवारी निभाउने बहानामा निस्केको छोरो गुमेकोमा आमाबुबाको मन नथामिएला ,साथी सङ्गीले अबका कयौँ वर्ष पछि पनि अभावको आभास गर्लान् थाह छ निकै ठुलो गल्ती गरेको छु तर अब निकै ढिला भैसकेकाेछ म जति नै चाहना गरे पनि उम्किन सक्ने छैन यो अवस्थाबाट ।

मनु ! अन्तिम श्वासका चाहहरू त मुग्लानको मरुभूमिमा दबिने नै भए तर शरीरका अंगहरुले नष्ट हुनुपूर्व थाह छैन किन तिम्रो स्पर्शको चाहत राखेका छन् । मेरो जिन्दगीका मुख्यतः पात्र सबैलाई भन्दा तिमीलाई बढी सम्झिएको छु भन्दिनँ तर जो दिलले गरेको चाहत छ त्यही खुलाएर आफू बन्द हुन चाहेको मात्रै हुँ । मलामीलाई तिमीलाई चाहने मुटु नजलाईदिनु भन्न सक्ने आँट बाँकी छैन अब त्यसैले धर्तीको अन्तिम प्रहरमा तिम्रो अन्तिम उपस्थिति चाहेको छ उड्दै गरेको आत्माले ।

मलामीले घाट लैजाँदासम्म कहीँ कतै तिम्रो मनले झुटै भए पनि हिजो गरेको प्रेमको आभास गरेछ भने अन्तिम बिदाइमा बाटो मुनिकै भएपनि एक थुङ्गा फूल लिएर दोबाटोमा भेट्न आउनु ल ?  म तिमीलाई अब कुनै कुरामा कर गर्नेछैन कहिल्यै पनि र कहीँ पनि किनकि अब कर गर्न म नै रहनेछैन कहिल्यै पनि कहीँ पनि भेटिनेछैन सदा सदाको लागि थियो भन्ने बनेर जिन्दगीको अस्तित्व मृत्युको काखमा कोसेली हालेर तिमी र तिम्रो स्वार्थी दुनियाँबाट धेरै धेरै पर जाँदै छु कहिल्यै ……………. कहिल्यै नफर्किने गरी ………..अलबिदा !!! अलबिदा !! अलबिदा!!!

   क्षितिज पारिबाट
  उही तिम्रो ‘अतीत’

 राम कृष्ण पाण्डे,

   भोर्ले – ७ रसुवा

     हाल, युएई

    Comment Here!