सौरभको प्रेमकथा

“अझैपनि कल्लेरी वनमा पिपिरी र सालको पातमा मिठा गीतका लय गुन्जिन्छन् यी कानहरूले जबजब ती धुन सुन्छन् तब तब पैतालाहरूले रफ्तार बढाउँछन् अँधेरी खोल्सा कटेर थुम्की टेक्नै लाग्दा त्यो लयमा उनी होइनन् भन्ने नजरले बताएपछि धड्कनले आफ्नो चाल बन्द गरिदिने तयारी गर्छन् बल्लतल्ल सम्हालिएर फिर्ता ओरालो लाग्दै गर्दा पैतालाहरूले गलत बाटो तय गरेको डाँडा कटेर रुप्सेपानी पुगेपछि थाह हुन्छ अनि कसैलाई भेट्न आएको बहाना बनाएर उकालो लाग्छु उनका यादहरूले जीवन बगाउँदै बगाउँदै । माथिल्लो गाउँको चौतारी पुग्दा निथ्रुक्क भिजेको शरीर बिसाउँनै लाग्दा सँगै बसेका चप्लेटी ढुङ्गाहरूले गिज्याईरहन्छन् । मेरो गिरेको मानसिकता प्रति घृणाका केही हरफहरू पस्किईरहन्छन् । म लाचार मौन सबथोक हेरिरहन्छु सहिरहन्छु।”

                                                                                                          -अमन ‘एकल ‘

प्रेम, जीवन जस्ता अहम् पक्षमा कोही सफल हुँदैनन् केही हदसम्म सफल भएकाले म सफल छु भनेर बाहिरी आवरणमा खुशी फैलिएपनि कहीँ कतै टुटेको मन र जीवन हुँदोरहेछ ।

बिदाको दिन एकाबिहानै मोबाइलमा फोनको घण्टीले उठाइ छाड्यो सौरभ रैछ

हेलो ! अमन दा ! नमन ! भनिहाल्यो फोन उठ्नासाथ ,नमन ! के छ राजा ? प्रश्न तेर्स्याईहालेँ,

ठिक छु दा कतिबेला भेट्ने ?

म १० बजे आइपुग्छु भनेर छोटो फोनवार्ता पश्चात् फोन कट गरेँ।

करिब दुई बर्ष पहिले सामाजिक सञ्जालमा जोडिएको सौरभ आफूलाई खास नलाग्ने हरेक कलमी कदम उसलाई निकै मन पर्थ्यो सदैव हौसला दिने मेरो प्रिय व्यक्ति थियो उ । उसले कयौं पटक गरेका आग्रहमा अनेकौँ प्रयासका बाबुजुत पनि हामी भेट्न सकेका थिएनौँ तर यसपाला भने केही दिनदेखि उ आफ्नो बारेमा केही बताउन चाहन्थ्यो । समयले साथ दिइरहेको थिएन अझ भनौँ हामी समय अनुकूल चल्न सकेका थिएनौँ आज मुस्किलले समय र चाहना अनुकूल बनेका थियौँ।

घडीमा दस बज्दै गर्दा बसस्टप नजिकै सनसाईन क्याफेको पहिलो तल्लाको बाहिर पट्टिको दोस्रो टेबलमा हातमा जल्दै गरेको आधा चुरोट टेबुलमा एक कप कफीका साथमा बाहिरी वातावरणमा भुलिरहेको मान्छेको पछाडि उभिएर फोन लगाएँ मोबाइल उसैले उठायो । उसले फर्केर हेर्यो फेसबुकको भित्तामा देखिएको भन्दा फरक देखेँ कुमकुम आउने कपाल पालेको थियो सफाचट पारेको दाह्री केही खाल्टा परेझैँ देखिने आँखाका तलाउहरू चुच्चो नाकमुनि लटरम्म फलेका जुँघा रहरलाग्दा देखिन्थे ।

सौरभ ? मैले सोधेँ

हजुर दा ! नमन !

नमन के छ खबर ? आराम छौ नि ? म अलिक ढिला भएँ कि ?

“होइन होइन दा म नै हतारमा छिट्टै आइपुगेको ।” झण्डै एकाध घण्टाको औपचारिक कुराकानी सँगै कफीका दुई कपले स्वागत गरे कफीका चुस्की सँगै जिन्दगीका अधुरा हरफहरू सुरु भयो सौरभबाट …

अमन दा ! जिन्दगी जिन्दगी जस्तो भएन या बनाउन जानिन मलाई थाहा भएन । म पनि हजुर जस्तै चितवनको पर्सामा जन्मिएको सामान्य परिवारको मान्छे घरमा तीन दशक कटेका दमका रोगी बृद्ध अवस्थाका आमाबाबु र कलेज पढ्दै गरेका भाईबहिनी छन् । परिवारको पहिलो सन्तान भएकोले होला केही जिम्मेवारी काँधमा थिए त्यही पूरा गर्ने जमर्कोमा यहाँ छु यतिबेला । केही अधुरा कहानी दिएको छ जीवनले मलाई त्यही कहानी तपाईँका कलमले सजाउँन चाहेको हुँँ मेरो आग्रहलाई स्विकार्दै आईदिनुभयो आभारी छु आशा छ मलाई पलपल पोल्ने मेरो अतीतलाई हजुरको कलमको साथले म हल्का हुनेछु ।

अवश्य राजा म तिम्रो स्थानमा बसेर लेख्नेछु ।

उ भन्दै गयो म सुन्दै गएँ !

उनको नाम अन्जु कलेजमा भेटिएकी हुन् एक ब्याज जुनियर रूपमा पनि निकै सुन्दर रूपभन्दा मन राम्रो थियो उनको, मुस्कानकी खानी हर कोहीलाई मनाउन सक्ने खुबी , हरेक परिस्थितिको सामना गर्ने हिम्मत भएकी । बागमा झुलेका फूलहरु बिचमा त्यै एउटा फूल देख्थेँ मैले सायद यो दिन देख्नु रहेछ र ! रहरहरू असफलता र दर्दका पोखरीमा यसरी पोखिए कि सागरमा विलीन भएको नदी जस्तै रहर साँच्ने ऊर्जाहरू समेत विलीन भैदिएका छन्  ।

चुल्हामा चौरासी काटेकी हजुरामाका गालाझैँ वर्तनहरु आन्दोलन गरिरहेका छन् भोकको आन्दोलन अँगेनो नबल्ने प्रण लिएर अलग्गै बसेको छ भकारी,माना ,पाथी धार्नी र बिसौलीहरू सबै आमरण अनशनमा बसेका छन् साथमा जिन्दगीले भयानक निर्णय गर्दै सूर्योदय देखि सुर्यास्तसम्म चन्द्र उदयदेखि चन्द्र अस्त सम्म भोक र प्यास भुलाएर यादका चिट्ठीहरु पढ्ने निधो गरेका छन् चपेटामा मलाई पारेर ।

दैलाको छेवैमा एकजोडी चप्पल पसारिइरहेका छन् हिजो जस्तै आजपनि ती दुवै अनुनय गरिरहेका छन् आऊ लगाऊ र सर्याक सर्याक मीठो आवाज निकाल भनेर म ती जोडी चप्पल नियालीरहेछु त्यसमा भरिएका उनका दुवै खुट्टा प्रष्ट देखिएको छ सुम्सुम्याउन हात लम्काउदै गर्दा उनी आफ्ना पैतालाहरू विलीन गराइदिन्छिन् म स्तब्ध हुन्छु ।

सन्ध्यामा जुनकीरीले दैलामा दीपक जलाएको देख्दा प्रफुल्ल मनले दगुर्दै दैलो टेक्न पुग्छु आउँदै गर्दा कतिपटक कहाँ कहाँ लडेँ म भन्न सक्दिनँ म देखाउँन सक्दिनँ छियाछिया भएका खुट्टाका औंलाहरु !दैलो सपिम पुगेपछि जब ती जुनकीरीहरु दूर दूरको बाटो नाप्छन् नि तब यी छियाछिया भएका औंलाहरुको दर्द महसुस हुन्छ अझ भनौँ साबिक भन्दा चौगुणा दर्द भैदिन्छ । साधारण मल्हमपट्टी गरौँ न त भनेर दुईचार मुन्टा बनमारा चुँड्न हात लम्काउँदै गर्दा भर्भराउदा बनमाराका मुन्टाहरू मुन्टो बटार्छन् र मुर्झाईदिन्छ्न् हालको मेरो मन र शरीर जस्तै।

अझैपनि कल्लेरी वनमा पिपिरी र सालको पातमा मिठा गीतका लय गुन्जिन्छन् यी कानहरूले जबजब ती धुन सुन्छन् तब तब पैतालाहरूले रफ्तार बढाउँछन् अँधेरी खोल्सा कटेर थुम्की टेक्नै लाग्दा त्यो लयमा उनी होइनन् भन्ने नजरले बताएपछि धड्कनले आफ्नो चाल बन्द गरिदिने तयारी गर्छन् बल्लतल्ल सम्हालिएर फिर्ता ओरालो लाग्दै गर्दा पैतालाहरूले गलत बाटो तय गरेको डाँडा कटेर रुप्सेपानी पुगेपछि थाह हुन्छ अनि कसैलाई भेट्न आएको बहाना बनाएर उकालो लाग्छु उनका यादहरूले जीवन बगाउँदै बगाउँदै । माथिल्लो गाउँको चौतारी पुग्दा निथ्रुक्क भिजेको शरीर बिसाउँनै लाग्दा सँगै बसेका चप्लेटी ढुङ्गाहरूले गिज्याईरहन्छन् । मेरो गिरेको मानसिकता प्रति घृणाका केही हरफहरू पस्किईरहन्छन् । म लाचार मौन सबथोक हेरिरहन्छु सहिरहन्छु।

उनी गएदेखि अस्तब्यस्त भएको छ जिन्दगी ! जिन्दगीको निदाल,दलिन र छानाहरूमा माकुराले प्रशस्त जालो लगाएका छन् र गिज्याईरहेका छन् जिन्दगीलाई एक दिन त्यही जालोमा अस्तित्व मेटाइदिने धम्कीका साथमा । म मौन छु प्रतिवाद गर्न सकेको छैन ओठले बोल्ने हिम्मत हारिसकेको छ मनले हर दासताको मौन स्वीकृति दिएको छ नचाहँदै नचाहँदै । म म रहेको छैन अब एउटा कठपुतली बनेको छु जान्दाजान्दै विपरीत दिशामा पाइला चाल्ने हिम्मत गर्दैनन् यी कदमहरू निर्जीव बनेको छ मस्तिष्क ! स्मरणमा हामीले रचेको हाम्रो दुनियाँ र उनी बाहेक अरू केही छैन खाली भएको छु भर्न सक्दिनँ कदापि सक्दिनँ ।

अमन दा ! अचेल उनले प्रेम गुनगुनाउने चौतारी घर आँगन र बिछ्याउँनाहरु मलाई आँखा तरेर हेर्छन् मेरा प्रश्नको भावमा उठेका नजरको जवाफमा उनलाई सम्झाइदिन्छन् । अचेल आउँदैन निन्द्रा हाम्रो बिछ्याउँना सम्म छेवैको कुर्सीमा धेरैबेर घोत्लिएपछी बाथरुम जाने बहानामा निस्कन्छ अनि विलीन भैदिन्छ नयनहरू उसैको प्रतीक्षा गर्दागर्दै सूर्यले पृथ्वीमा विजयको ध्वजा फर्फराउँछन्। तल्लो बारीमा लगाएको साल,सिसौ र लाकुरीले उनी गएदेखि अपनत्व दर्शाउन छाडेका छन् । आँगनी डिलमा मुस्कुराउदैनन् गुलाफ र बेली चमेलीहरू , भोगटे आँप नास्पातीले नफल्ने निधो गरी अनशनमा बसेका छन् । मेरै एकहाते हुने मालीगाईले मैलाई लात्ती हान्न थालेकी छिन् । यस्तो बेलामा म उनलाई फर्क न भनेर आग्रह गर्न समेत हिम्मत जुटाउन सकेको छैन ।

बेलाबेलामा आकाशले तस्बिर खिच्दा उनी झस्किने पलहरू अचेल मलाई झस्काउँने भएका छन् जबजब बिजुली चम्किन्थ्यो तबतब बार्दलीमा उनी चिच्याउथिन् हत्तारिएर उनको समीप दौडिरहेका पैतालाहरू भर्याङ्गका सिँढीमा जहिल्यै खुस्किन्छन् घुँडाले भर्र्याङ्को अन्तिम सिँढीमा दर्शन ढोग गरिसकेपछि उनी त दूर पुगेकी छिन् भन्ने खबर मस्तिष्कलाई प्राप्त हुन्छ र रोकिन्छ धड्कन उठ्ने मेरो अथक प्रयासलाई विफल गराउँदै म सधैँ झैँ सम्हालिने कोशिश गर्छु र केही हदसम्म सम्हालिन्छु अर्को पटकको चोटको निम्ति ।

एक एक कप कफी बिदा भैसकेकाले मैले अर्को दुई कप कफी र दुई चुरोट मगाएँ । चुरोट आइहाल्यो एउटा आफूले समातेर अर्को उसको हातमा थमाएँ दुवैले एक एक सर्को लगाइसकेका थियौँ उ भन्दै गयो म सुन्दै गएँ कतै नरोकिईकन चुरोटको सर्को , कहानी र कफी बगिरहेका थिए म डुब्दै थिएँ लगातार डुब्दै गैरहेँ एक खिल्ली चुरोट , कफी र उसको आवाजमा उसकै कहानीभित्र ।

दा ! आकाशमा लाखौँ ताराहरू चम्चमाईरहेका हुन्छन् बिचमा चन्द्र खुशीले मुस्काईरहेको प्रष्ट देखिन्छ तर मलाई तीन तारा भन्दा प…र को एक्ले ताराको माया लागेर आउँछ सायद म जस्तै भएर हो कि , पूर्ण चन्द्र लागेको रातमा आँगनी छेवैमा गुन्द्री बिछ्याएर चौथो प्रहर लाग्दा सम्म प्रेमिल कुरा गर्दै उनको आँचलभित्र हराउँथे अचेल त्यै पूर्णिमाको प्रतीक्षा रहँदैन हरेक रातलाई औंसी बनाई भित्र्याउन पाए छातीलाई सुकुन मिल्थ्यो जस्तो लाग्छ । काश अरू जस्तै मानसपटलबाट ती याद निमिट्यान्न पारेर चुँडेर फाल्न सक्दो हुँ त !

पँधेरीमा मेरो गुनगुनाहट लाई साथ दिन , गाउँमा पुजाअाजा , विवाह , व्रतबन्ध र अन्य कामकाजमा अगाडि सरेर जिम्मेवारी बहनगर्न , हरेक महिना रोधीको आँगनीमा रातो घलेकी ओढेर आउँदिन त्यो मान्छे । एक जोर मादल बोकेर ओरालो लागेका यी पैतालाहरू रोधी आँगन नटेक्दै फर्किएको धेरै भयो , गाउँमा पुजाआजा कर्मकाण्ड पर्दा अचेल पुग्दैनन् यी पैतालाहरू पृथ्वी भन्दा गह्रौँ यो मन बोकेर ! उनी गएपछिका केही समय जान्थेँ उनका पर्छाईहरु बटुल्न तर बारम्बारको प्रयास व्यर्थ भएपछि सुस्ताएका छन् पाइलाहरू कहीँ कतै चल्नै मान्दैनन् ।

चाडपर्व र मेलामा चौतारीमा हालेको लठहरे पिङमा देखिन्नन् अचेल त्यो जोडी जुन जोडीलाई सात गाउँले चिन्थ्यो पिङ मच्चाएर पिपलको पात टिप्ने खेल बन्द भएको निकै भएको छ अचेल कसैलाई त्यसको रस पसेको छैन सायद मेरा वियोगान्त पल नियालेकाहरुले आफ्नो मन भाँचेका हुन कि ?

अँगेनामा पाक्दैनन् अचेल माली गाईका बिगौती अनि बाँडिन्नन् गाउँमा , कसैले ल्याइदिएका बिगौती दुनामै कुहिन्छन् दुर्गन्धित भएपछि नाकले हातलाई जबर्जस्ती आदेश दिन्छन् कहीँ दूर फ्याँक्नको लागि काश बिगौती सँगै उनका यादलाई पोको पारेर तुल्चेपको पहराबाट पावाखोला पुग्नेगरी फ्याँक्न सक्दो हुँ त !

कथामा वर्णन गरिएको स्वर्ग जस्तै मनमा मुग्लानी मरुभूमिको राजधानी बनेको छ म यही राजधानीमा बसेर किनार काटेर बनाएका सुन्दर दृश्यहरू , आकाश छुन लम्किएका झल्मलाउदा चुचुरा बोक्ने घरहरू सुबिधासम्पन्न ठाउँको बसाई भोग्दै छु तै पनि तुच्छ लाग्कछन् यी सबै , हजारौँको भिडमा गल्लीहरू छिचोल्दै हुन्छु तर समीपमा कोही छैनन् समीप कोही हुँदै हुँदैनन् लाग्छ सायद मनले कसैलाई देख्नै छाडेको छ । कोही केही प्रिय लाग्नै छाडेको छ  उनी बाहेक !

रातो , निलो सारीमा सजिएर प्रेमिल कुरा गर्न अचेल सपनीमा आउँदिन त्यो मान्छे आँखा बन्द गर्दा नगर्दै कल्पनामा आँखै अगाडि आउँछे अनि आँखा नखोल्दै विलीन भैदिन्छे यी नयनहरू खोजिरहन्छन् हिजो जस्तै आज पनि तर उ हिजो जस्तै आउँदिन आज । परेलीका डिलबाट खस्न मात्रै जानेकी छ उसले म उसलाई चाहेर पनि नखसाल्न सक्दिनँ काश आँखा बाट बगेका आँसुले पाखाल्न सक्दो हुँ त उसका याद जीवन कति सहज हुन्थ्यो होला ।

प्रवासको झन्डै एक दशकको बसाइले मेरो आफ्नो भन्ने सबै लुट्यो दा ! आज न सम्पत्ति न परिवार भएको छु । सम्पत्ति त पुनः जोडौँला तर प्रेम कहाँ कसरी जोडौँ ? त्यो अपनत्व ती स्वर्णिम पल कहाँ कसरी जुटाउँनु दा मैले ?? टिलपिल भएका नयनबाट तप्प तप्प दुई बूद आँसुले टेबुलका छातीमा रजाइँ गर्न लागेका थिए म आफूलाई सम्हाल्ने कोशिशमा थिएँ सौरभ आफैँ सम्हालियो ।

मध्यरातमा करोडौं ताराको बिचमा एक तारा टुटेर एकै पलमा उनी त्यस्तै बिलाइन् मेरो जिन्दगीबाट थाह छैन कहाँ ? थाह छैन किन ? केबल गुमाएको छु यत्ति थाह छ । सायद क्षितिजपारी कहीँ आफ्नै दुनियाँमा रमाउँदै होलिन् सदैव उनको सुखद जीवन को कामना गर्दै अचेल टुटे /छुटेका सम्बन्ध जोड्ने कोशिसमा छु दा !

सौरभ बोल्दै थियो म सुनिरहेको थिएँ जीवन बगाइरहेको थियो उ म बग्दै थिएँ उसका आवाजहरूमा म सँगै चार कप कफी र दुई चुरोट पनि बगे उसका शब्दमा अन्ततः आकाशलाई हाम्रो वार्तालाप मन परेन या उसको कहानीमा दुखी भयो मैले बुझिन । हामीलाई एक अर्काबाट छुट्टीनु थियो आजको सम्बाद यसैमा टुङ्याएर अर्को भेट सम्मका लागि छुट्टियौँ । मनमा धेरै कुरा खेले आखिर उसकी उनीले किन छाडिन् त ? कहाँ छिन् त उनी अहिले ??

फर्किँदै गर्दा बाटोमा सौरभले पुनः फोन गर्यो दा हजुरको मनमा कहाँ होली किन छुटेहोला भन्ने पक्कै लाग्या होला है ? उम हो नि जवाफमा फर्काए आज उ अरू कसैको दुनियाँ हो दौलतले मेरो जिन्दगी भड्खालोमा हालेको यो चौथो वर्ष बित्यो । हस् बाकी पछि कुरा भेटमा गरौँला । म हेलो भन्दै थिए उसले फोन काट्यो।

अनेकौँ प्रश्नले मनमा भुईँचालो चलिरहेको थियो रुममा आइपुगेँ मन विचलित भएकोले शान्त रहन आफ्नै पुराना किस्सा सम्झिएँ अनि पर्समा राखिएको तस्बिरमा सन्ध्याको तस्बिर सँग सम्बाद सुरु भयो थाह छ उनले त सुन्दिनन् तर पनि यो मन शान्त पार्नुछ । सच्चा प्रेम गरेको थियो सौरभले अन्जुलाई थाहा छैन अन्जु कहाँ छिन् , के गर्दै छिन् मेरो आग्रह यत्ति रहनेछ तिमीले त्यागेको प्रेमले बैँसका कुरिलाहरू मुर्झाएपछी तिमीलाई निकै पोल्नेछ ।

मरुभूमिको मुटुमा रगत सँग जीवन साटेर कमाएको दौलतले अवश्य हो तिम्रो यथार्थता जलाएर राख बनाउँने छ तरपनि शान्ति पाउँने छैनौ तिमीले किनकि जीवन हुनुको अस्तित्व नै लत्याएकी छौ आफू हुनुको औचित्य बेचेकी छौ आशा छ तिमीले रोजेको नयाँ पथमा पुराना गल्तीहरू दोहोर्याउँने छैनौ तिमीलाई तिम्रो सुखद जीवनको शुभकामना ।

सन्ध्या ! तिमी र म जस्तै अरू पनि रहेछन् फरक मात्रै कथा हुँदोरहेछ आखिर जीवन त एकै न हो ! हामीले एक तवरले बाँच्यौँ सौरभ र अन्जुले अर्को तवरले फरक यत्ति हो जिउने कला फरक भयो जिन्दगी त एकै हो । तिम्रा शब्दमा आफूलाई सजाएर धेरै लेखेँ मेरा शब्दमा तिमीलाई सजाएर केही लेखेँ आज अरूको जीवन देखेँ अनि लेखेँ जसले वियोगान्त जीवन गुजार्दै गरेका छन् । तिमी र म जस्ता अरूलाई बाँच्ने हौसला मिलोस् दुनियाँमा दुखी म मात्रै छैन तिमी मात्रै हैन हरकोही दु:खी छन् फरक त केवल देखाउँनु र नदेखाउनु न हो ।

प्रकाशित मिति, २०७५ साल बैशाख १५ गते, शनिवार

नोट :- सौरभको एकतर्फी कुराको आधारमा लेखिएको हो ।

      राम कृष्ण पाण्डे,

     भोर्ले – ७ रसुवा

      हाल, युएई

 

    Comment Here!