बलात्कारको बिगबिगी र हाम्रो जिम्मेवारी

“देवी,धर्ती,जननी,माता,शक्तिस्वरुपा,आदि उपनामले विभूषित गरी पूजा गरिने नारीमाथि समाजमा यस्तो क्रूर दानवीय घटनाहरू कसरी घटिरहेछन् ? हाम्रो खानपान,रहनसहन,शैली,स्वभाव,लवाई हिँडाइदेखि बोली ब्यवाहारमा कतै अपराधको गन्ध त छैन ? यसको समूल अन्त्यको लागी राज्यले के कस्तो रणनीति अपनाउनु पर्दछ ? मानवले मानवमाथि नै किन निकृष्ट,अमानवीय,दरिद्र,पाशविक घटनाहरू घटाउँदै गइरहेछन् ? यस संवेदनशील मुद्दामा राज्यमात्र नभएर हरेक जिम्मेवार नागरिकले गहिरिएर सोच्नुपर्ने बेला आएको छ ।”

                                                                                                                                     – दीपशिखा शर्मा

जीवन अनिश्चित छ । अनिश्चितताको जिजीबिशामा रुमल्लिईरहेको छ मानिसको यात्रा । यही अनिश्चित यात्रामा मान्छे स्वतन्त्र रूपले गन्तव्यमा पुग्न चाहन्छ । तर जीवन सोचेजस्तो सहज भने छैन । अनन्त यात्रामा अनेक बाधा,अवरोध,ठेस,अड्चन आइलाग्छन् । हिँड्न लागेको बाटो भत्किन सक्छ ,पुग्न लागेको स्थान नभेटिन सक्छ ,बाँच्न चाहेको जीवन नपाइन सक्छ । समयको चक्रले जीवनको ढुङ्गा हाँकेर कता पुर्‍याउँछ कता भन्न सकिन्न ।

यात्राको दौरान कसै कसैको जीवनमा भयानक आँधीवेहरी,हुण्डरी र सुनामी आउँछ । यही बिद्रुप आँधी हुरीले मनभरि सजाएर राखेका भविष्यका अमूल्य सपनाहरू बढारेर लैजान्छन् । अथाह पीडा एवं घाउ चोट दिएर जान्छन् । भविष्यका कर्णधार कलिला मुनाहरू क्षणभरमै आततायीहरूबाट निमोठिन्छन्,लुटिन्छन्,च्यातिन्छन्,भताभुङ्ग हुन्छन् । चाहना र रहरहरू समयको छालसँगै उठेका पानीका फोकाहरू झैँ बिलाएर जान्छन् । समग्रमा भन्दा हाँसी खेली हुर्के बढेको जीवन बलात्कारीले क्षणभरमै स्वाहा बनाइदिन्छ । अनि हुन्छ कलिला नानीहरूको एकमात्र गन्तव्य आत्महत्या…………..मानसिक हस्पिटलको आई.सी.यु कक्ष ,पुनस्र्थापना केन्द्र अनि धर्मशालाहरू…….

मानिस एउटा विवेकशील प्राणी हो । उ दुनियाँको सबैभन्दा सचेत प्राणीमा पर्दछ । तर विडम्बना ! मानव रूपदारी कालो नकाब लगाएका छद्धमभेषी पुरुषद्धारा नै छोरी चेली,दिदी,बहिनी,फुपू काकी भाञ्जी,भतिजी,दश महिना कोखमा राखेर दशधारा दूध खुवाई लालन पालन गर्ने हुर्काउने बढाउने देबीस्वरुपा साक्षात् आमा समेत जबर्जस्ती करणीको शिकार भएका घटनाहरू दिनपरदिन बाहिर आइरहेका छन् । आफू माथी भएका त्रासदीपुर्ण घटना सहन नसकी कोही विक्षिप्त अवस्थामा छन् भने कोही परिवारबाट बहिष्कृत भएर घर न घाट भएर बाँचीरहेछन् । कोही शारीरिक रूपले नै अपाङ्ग छन् । काम काज गर्न सक्दैनन् । परिवारको बोझ,तिरस्कार र घृणा सहेर बाँच्न विवश छन् ।

बलात्कारका घटना घट्नुको साटो झन् झन् बढ्दै गएको छ । बाबुद्धारा छोरीको ईज्यत लुटिएको छ ,काकाद्धारा भतिजी करणीको चपेटामा परिरहेका छन् ,मामाद्धारा भान्जीमाथि दुर्व्यवहार गरिएको छ ,बृद्धद्धारा नावालिग बलात्कृत भएका छन् । दिनहुँ जसो घट्ने बलात्कार,हिंसा,हत्या जस्ता जघन्य अपराधहरू मुलुकमा अब आम बन्दै गइरहेको तितो यथार्थतालाई नकार्न सकिँदैन । देवी,धर्ती,जननी,माता,शक्तिस्वरुपा,आदि उपनामले विभूषित गरी पूजा गरिने नारीमाथि समाजमा यस्तो क्रूर दानवीय घटनाहरू कसरी घटिरहेछन् ? हाम्रो खानपान,रहनसहन,शैली,स्वभाव,लवाई हिँडाइदेखि बोली ब्यवाहारमा कतै अपराधको गन्ध त छैन ? यसको समूल अन्त्यको लागी राज्यले के कस्तो रणनीति अपनाउनु पर्दछ ? मानवले मानवमाथि नै किन निकृष्ट,अमानवीय,दरिद्र,पाशविक घटनाहरू घटाउँदै गइरहेछन् ? यस संवेदनशील मुद्दामा राज्यमात्र नभएर हरेक जिम्मेवार नागरिकले गहिरिएर सोच्नुपर्ने बेला आएको छ ।

“मानिस एउटा विवेकशील प्राणी हो । उ दुनियाँको सबैभन्दा सचेत प्राणीमा पर्दछ । तर विडम्बना ! मानव रूपदारी कालो नकाब लगाएका छद्धमभेषी पुरुषद्धारा नै छोरी चेली,दिदी,बहिनी,फुपू काकी भाञ्जी,भतिजी,दश महिना कोखमा राखेर दशधारा दूध खुवाई लालन पालन गर्ने हुर्काउने बढाउने देबीस्वरुपा साक्षात् आमा समेत जबर्जस्ती करणीको शिकार भएका घटनाहरू दिनपरदिन बाहिर आइरहेका छन् । आफू माथी भएका त्रासदीपुर्ण घटना सहन नसकी कोही विक्षिप्त अवस्थामा छन् भने कोही परिवारबाट बहिष्कृत भएर घर न घाट भएर बाँचीरहेछन् । कोही शारीरिक रूपले नै अपाङ्ग छन् । काम काज गर्न सक्दैनन् । परिवारको बोझ,तिरस्कार र घृणा सहेर बाँच्न विवश छन् ।”

एस.एल.सी. को तयारीको लागी पुस्तक किन्न जाँदा शौचालयमा सामूहिक बलात्कारको शिकार हुन पुगेकी पूजा बोहरा,भाइ बुहारी काममा गएको मौका छोपी ५२ वर्षीय ठुलो बाबुबाट बलात्कृत हुन पुगेकी ८ वर्षीया ‘मुना’र घरमा सुतिरहेको बेला ३० वर्षीय छिमेकीले अपहरण गरी बलात्कार गरी खेतमा फालिएकी ६ वर्षीया ‘आशा’ बलात्कारपछि हत्यागरि फालिएकी ८ वर्षीया बालिका कञ्चन ठाकुर,यसैगरी कन्चनपुरमा हत्या गरी फालिएकी निर्मला पन्त एवं हालसालै निर्मम रुपले बलात्कारको चपेटामा परेरा हत्या गरिएकी अबोध बालिका श्रेया बि.क. जस्ता हजारौँ पीडित बालिकाहरू यसको ज्वलन्त उदाहरण हुन् । रक्षा नेपालको पुनर्स्थापना गृहमा मात्र ३५ जना बलात्कृत बालिकाहरू आश्रय लिइरहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउनुहुन्छ । पाशविक बलात्कारको शिकार बनाइएका उनीहरूको अवस्था निकै नाजुक रहेको छ । उनीहरू मानसिक एवं शारीरिक रूपले बिछिप्त छन् । बलात्कार गर्ने बलात्कारीको हकमा अदालतले सन्तोषजनक फैसला गर्न सकिरहेको छैन । केही मुद्दाहरू किनारा लागिसकेका छन् भने केही अदालतमा विचाराधीन अवस्थामा छन् ।

जबर्जस्ती करणीको सवालमा सरोकार निकायबाट बहस एवं चासो देखिएपनि त्यसले उल्लेखनीय कार्य गर्न सकिरहेको छैन । जे जति कार्यक्रमहरू ल्याइएका छन् ती कागजी नारामा मात्र सीमित छन् । दूर दराजका विभिन्न ठाउँबाट महिला तथा बालिकाहरू दिनहुँ जसो बलात्कारको शिकार हुने प्रक्रिया जारी छ ।  ३ वर्षका ,बालिका देखि ७१ वर्षका महिलाहरू समेत पाशविक बलात्कारको शिकार हुनुपरेको दर्दनाक घटनाहरू पत्रपत्रिका तथा सामाजिक सञ्जालको माध्यमबाट दिनहुँ जसो सार्वजनिक भइरहेका छन् । सामूहिक बलात्कार या घर परिवार आफन्तजनबाटै बलात्कारको शिकार हुनु परेको पीडाबाट हरेक संवेदनशील मान्छेलाई सोच्न बाध्य गराउँछ । आखिर किन महिलाहरूमाथि तीव्र रूपमा हिंसाको क्रम बढ्दै गइरहेको छ ? किन हाम्रा छोरी चेलीहरू असुरक्षित बन्दै गइरहेका छन् ? बलात्कारको मुख्य कारण के हो ? यो त्रासदीलाई रोक्न सरोकार निकायले के कस्ता अभियानहरू सञ्चालन गर्नुपर्दछ ?

“एस.एल.सी. को तयारीको लागी पुस्तक किन्न जाँदा शौचालयमा सामूहिक बलात्कारको शिकार हुन पुगेकी पूजा बोहरा,भाइ बुहारी काममा गएको मौका छोपी ५२ वर्षीय ठुलो बाबुबाट बलात्कृत हुन पुगेकी ८ वर्षीया ‘मुना’र घरमा सुतिरहेको बेला ३० वर्षीय छिमेकीले अपहरण गरी बलात्कार गरी खेतमा फालिएकी ६ वर्षीया ‘आशा’ बलात्कारपछि हत्यागरि फालिएकी ८ वर्षीया बालिका कञ्चन ठाकुर,यसैगरी कन्चनपुरमा हत्या गरी फालिएकी निर्मला पन्त एवं हालसालै निर्मम रुपले बलात्कारको चपेटामा परेर हत्या गरि फालिएकी अबोध बालिका श्रेया बि.क. जस्ता हजारौँ पीडित बालिकाहरू यसको ज्वलन्त उदाहरण हुन् । “

बलात्कार के हो ?

कुनै पुरुषले महिला वा बालिकामाथि निजको ईच्छ्या विपरीत जोर जबर्जस्ती जोरजुलम गरी करणी गर्नुलाई बलात्कार भन्ने गरिन्छ । नेपालमा यसरी बलात्कार हुने महिलाहरूको औसत उमेर ३ वर्षदेखि ७१ वर्षसम्मको रहेको छ ।

कसरी बढ्छ बलात्कार ?

क) इन्टरनेट,ब्लु फिल्म,अश्लील चित्र,पत्रपत्रिकाको बढ्दो प्रयोग ।
ख) चेतनाको कमी ।
ग) मानसिक समस्या एवं धैर्यताको कमी ।
घ) पारिवारिक मनुमटाव ।
ङ) एकांकीपन ।
च) उत्तेजक पहिरन/लवाई खवाई ।

बलात्कार किन हुन्छ ?

आफूलाई जबर्जस्ती करणी गर्न खोज्दा साना उमेरका बालिकाहरूले विरोध गर्न सक्दैनन् । विभिन्न प्रलोभन वा धम्कीले समेत बालिकालाई मुखमा लगाम लगाउन सक्ने भएकोले अपराधीको गिद्धेदृष्टि प्रायः बालिकामाथि गढेको हुन्छ । प्रहरीका अनुसार कम उमेर समूहका बालिकाहरूमाथि गरिने त्रासदीपूर्ण घटनाहरू प्रायःआफन्तबाटै घट्ने गर्दछन् । छिमेकी मात्र नभएर मामा,काका,बुबा,हजुरबुबाबाट अधिकांश बालबालिकाहरू पाशविक बलात्कारको शिकार भएको पाइन्छ । समाजशास्त्री चैतन्य मिश्रका अनुसार गाउँ र शहरमा घट्न जाने बलात्कारका घटनाका कारणहरू फरक फरक हुने बताउनुहुन्छ ।

गाउँमा पिछडिएको वर्ग समुदायका व्यक्तिलाई ठुला जमिन्दारहरूले तल्लो दर्जाको नागरिक सरह हेप्ने,हियाउने कारणले हीनताबोध भई बर्षौंबर्षदेखि सञ्चय भएको प्रतिसोधको नकारात्मक ऊर्जा स्वरूप दोस्रो व्यक्तिमाथि बलात्कार हुने वहाँको ठम्याई छ । गाउँबाट शहरमा डेरा सरेर आउने परिवारका छोराछोरीहरूपनि यसका शिकार भएका छन् । वरपरका छिमेकी कसैसँग राम्रो चिनजान रहँदैन । सबैलाई गाँउकैजस्तो दाजु ,बुबा,काका,भनी सौहार्द्दपूर्ण व्यवहार गर्दछन् ।

यसका साथै गलत सङ्गत र अनुशासनमा बाँध्ने कोही नभएको कारण मौकाको फाइदा उठाई उनीहरूलाई तेस्रो व्यक्तिले दुरुपयोग गर्दछ । कुन कुरा सही या कुन गलत भन्ने ठम्याउन नसक्ने उमेर समूहका बालिकाहरूमाथि खराब काम गर्नबाट रोक्ने अभिभावक समेत नहुँदा समाजमा यस्ता अप्रिय घटनाहरू घट्न गएका छन् । छाउपडी प्रथा बाट पनि बलात्कारका घटनाहरू हुने गरेका छन् । सुदूरपश्चिमतिर मासिकश्राव भएको बेला महिलालाई छाउगोठमा राख्ने चलन छ । एकान्त स्थानमा रहेका छाउपडीहरूलाई मौकाको फाइदा उठाई अपराधीले बलात्कार गरेका हजारौँ घटनाहरू सार्वजनिक भएका छन् ।

तराईमा खुल्ला शौचालयका कारणले समेत बालिकाहरू बलात्कृत भइरहेका छन् । शौच गर्न गएको बेला खराब मनोवृत्ति बोकेका व्यक्तिले पिछा गर्दै बालिकाहरूमाथि जबर्जस्ती करणी गरेका घटनाहरू सार्वजनिक हुँदै आएका छन् । तथापि बदनामीको डर,बलात्कारीको धम्की र त्रास,प्रहरीसँगको पहुँच नभएका कारण घट्न गएका घटनाहरू ओझेलमा पार्ने छिपाउने गरिन्छ ।

कानुनमा के छ ?

१) १० वर्षभन्दा कम उमेर समूहका बालिकालाई करणी गर्नेलाई १० देखि १५ वर्ष कैद सजाय ।
२) १० वर्षदेखि १४ वर्षसम्मका बालिकालाई करणी गरेमा ८ देखि १२ वर्ष कैद सजाय ।
३) १४ देखि १६ वर्षसम्मका बालिका करणी गर्ने अभियुक्तलाई ६ देखि १० वर्षसम्म कैद सजाय ।
४) सामूहिक बलात्कारी,अशक्त वा अपाङ्गलाई बलात्कार गर्नेलाई थप ५ वर्ष कैद सजाय ।

फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्न बनेको विधेयकमा बालिकाको दायरा १८ वर्ष राखिएको छ । त्यसभन्दा कम उमेरका सँग राजीखुशी यौनसम्वन्ध भएपनि त्यसलाई जबर्जस्ती करणी मानिने प्रस्ताव उल्लेख गरिएको छ । उक्त प्रस्ताव अन्तर्गत १६ वर्षदेखि १८ वर्षकी बालिकासँग यौन सम्बन्ध राख्नेलाई ५ देखि ८ वर्षसम्म कैद सजाय तोकिएको छ । त्यसपछिका उमेर समूहका बालिकालाई बलात्कार गर्नेलाई ५ देखि ७ वर्षसम्म जेल हुने प्रावधानलाई ४ देखि ७ वर्षमा झार्ने प्रस्ताव अगाडी ल्याइएको छ । सामूहिक बलात्कारी,अशक्त वा अपाङ्गलाई बलात्कार गर्नेलाई थप ५ वर्ष कटाएर ३ वर्ष बनाउन लागिएको छ । अपराधीलाई हदभन्दा बढी सजायको व्यवस्था गरेर अपराध शून्य गर्नुपर्नेमा झन् सजाय कम गरेर अपराधीको मनोबल बढाउने काम भएको छ । यस विषयमा महिला आयोग,मानव अधिकारकर्मी वा सरोकार निकायद्धारा व्यापक सार्वजनिक बहसका साथै सर्वत्र विरोध हुनुपर्दछ ।

अपराधीलाई सजाय कम गर्ने विधेयक एक सच्चा सचेतकलाई कुनै पनि हालतमा मान्य हुनुहुँदैन । जो मानिस क्षणिक बासनाको परिपूर्तिको लागि शदिंयौं देखिको रगतको नाता एवं मानवतालाई समेत मेटाएर छोरी,चेली,बुहारी,आमा माथि जाईलाग्छ ,निर्दोष नारीहरूको अस्मिता लुटेर मानसिक आघात दिन्छ । निर्दोष अनुहारहरूलाई काम बासनाको आगोमा जलाएर भस्म पार्छ । त्यस्तालाई मानव कदापि मान्न सकिँदैन । मानव नाउँमा त्यो एउटा कलङ्क हो ,पशुको दर्जामा ओर्लेर कसैको ईच्छ्या विपरीत जोरजबर्जस्ती जोर जुलुम गर्ने यस समाजका आततायीहरूको मुख्य जड पत्ता लगाई तिनीहरूको पत्ता साफ गर्ने समय आइसकेको छ । जसको कारण अपराधीले अपराध गर्न हजारपल्ट सोच्नु परोस् । प्रत्येक मानिसको शान्तिपूर्वक बाँच्न पाउने नैसर्गिक अधिकार हुन्छ । उक्त अधिकारको हनन गरी कसैको जीवन जबर्जस्ती निमोठेर फ्याँक्ने दया,माया,ज्ञान र विवेक नभएको मानवरुपी राक्षसहरूको हिम्मतलाई निरुत्साहित गर्न हरतरहबाट अभियानको थालनी गर्नुपर्दछ । बालिका बलात्कार गर्ने बलात्कारीहरूलाई कानुनको कठघरामा उभ्याएर सर्वस्व सहित जन्मकैद वा फाँसीको व्यवस्था नगरेसम्म कलिला नानीहरूमाथिको बलात्कार नियन्त्रण हुनसक्ने कुनै सम्भावना छैन ।

बालिका जोगाउने कसरी ?

बालिकाको पहिलो पाठशाला भनेको घर हो । साना बालिकाहरूलाई अभिभावकहरूबाट नै नैतिकताको पाठ सिकाउनु पर्दछ । कुन कुरा सही या कुन गलत भन्ने कुराको जानकारी बालिकाहरूलाई सानैदेखि हुन जरुरी छ । बालिकाहरूलाई यौन शिक्षा,उचित रेखदेख,शंकास्पद व्यक्तिमाथि निगरानी गर्ने, एक्लै नछोड्ने,चिने जानेको मान्छेसँग कसरी जोगिने भन्नेबारे आवश्यक प्रशिक्षण दिनुपर्दछ । जसको कारण अपराध नियन्त्रण गर्न थप बल मिल्नेछ । कसैले माया गर्ने बाहानामा शरीरमा हात हाल्यो,संवेदनशील अंगहरु छोयो/चलायो भने तत्काल प्रतिवाद गर्नसक्ने र बिना हिचकिचाहट बालिकाले घरमा आएर अभिभावकलाई भन्न सक्ने माहौल श्रृजना गर्नुपर्दछ । संवेदनशील अङ्गहरू के के हुन् भन्ने विषयमा सजिलो भाषामा बालिकाले बुझ्ने गरी सिकाउन सक्नु नै असल अभिभावकको प्रमुख कर्तव्य हो । साना छोराछोरी छिमेकीको घरमा खेल्न गएको छन् भन्दैमा ढुक्कसँग बस्न हुँदैन । बालिका सुरक्षित हुनु जरुरी छ । शङ्कास्पद व्यक्ति र बालिकाका क्रियाकलापबारे बेला बेलामा बिचार पुर्याउनु पर्दछ । धेरै समयसम्म आफ्नो आँखाबाट बालिकालाई टाढा राख्न हुँदैन ।

आजका बालिका भोलिका युवती हुन् / आमा  हुन् ,देशका कर्णधार हुन्,विकासका खम्बा हुन् । नारी बिनाको संसार कल्पना पनि गर्न सकिन्न । तसर्थ बालिकाहरूको हर तरहबाट संरक्षण गर्नु अब हामी सबैको साझा जिम्मेवारी हो । बलात्कारको सङ्ख्या न्युनिकरण गर्न राज्य वा सरोकार निकायबाट तत्काल ठोस रणनीति ल्याउनुपर्दछ । उक्त रणनीति भनेको “बालिका बचाउ अभियान कार्यक्रम”नै हो । यस महाअभियानमा सबैको साथ आवश्यक छ । आधा आकाश ढाकेर बसेका बालिका/महिलाहरुलाई यस्ता दुर्व्याहारबाट बचाउन सकेमा देश विकासको द्रुततर गतिमा अगाडी बढ्नेछ । तसर्थ बाल बालिकाहरूको संरक्षण गरौँ । बालिका बलात्कार,हत्या,हिंसा रोकौँ एक असल समुन्नत समाजको थालनी गरौँ ।

  dastawejnews@gmail.com
२०७३/०२/०४ गते शनिवार,काठमाडौँ
 खबरवाणी डट कममा प्रकाशित 

    Comment Here!