‘मेरी आमा’

                              – दीपशिखा शर्मा

“या देवी सर्व भुतेषु,मातृ रुपेण संस्थिता
नमः  तस्यै नमः तस्यै नमःतस्यै नमो नमः”

प्रसव वेदनाले छट्पटाएको धेरै समयपछी बल्लतल्ल सन्तान जन्मिन्छ । भूईमा झर्न नपाउँदै बच्चाको रुवाई सुनिन्छ अ…. म्मा . अर्थात् आमा । शायद त्यो पवित्र शब्द नै आमा हो । आमाको कोखबाट भुईँमा झर्नासाथ निस्कने रोदनमा पनि अ…. म्मा …….. अर्थात् आमा मिसिएको हुन्छ । कतै हिँड्दा डुल्दा चोटपटक लाग्यो भने एक्कासि निस्कन्छ मरेनी आमा ! लड्दा अनायस पुकार्न मनलाग्छ ऐया आमा ! कुनै अप्ठ्यारोमा पर्दा आपसेआप निस्कन्छ हे आमा ! एक सन्तानको लागि शायद आमा भन्दा ठूलो चिज यस संसारमा केहिपनि छैन ।

‘आमा’ आफैमा यस्तो सरल शब्द हो तर यस सरल शब्दको परिभाषा दिन कुनै पनि भाषा कोश एवं शब्द संयोजनले समेत सक्दैन । अनेक पिडा वाधा अड्चनहरू सही नौ महिनासम्म कोखमा राखी पैदा गरेर दश धारा दूध खुवाई, हुर्काई, बढाई यस धर्तीमा सङ्घर्ष गर्न लायक बनाउने ममताकि खानी, दयाकी प्रतिमूर्ति आमाको स्थान अपरिहार्य छ । जगत जननी आमाको स्थान लिन शायद कसैलेपनि सक्दैन ।

“झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन् ,
ताते ताते भनी बोल्दै तोते बोली सिकाउँछिन् ”

आमा देवीकी प्रतीक हुन शक्ति स्वरुपा हुन,मायाकी खानी हुन्,ममताकी सागर हुन् त्याग र तपस्याकी जीवन्त उदाहरण हुन् । आमाको दूधको भार शायद सातजन्म सम्मपनि तिरेर तिर्न सकिन्न । ती आमा, जसले अनेक पिडा ,वाधा अड्चनका सहेर ,खपेर अनेक दुःख सास्ती झेल्दै ,वाधा अप्ठ्याराहरूसँग लड्दै आफ्नो सम्पूर्ण माया ममता न्यौछावर गरेर आज यो संसार देख्ने बनाइन् मेरी आमा । तिमीलाई धन्यवाद छ । तिम्रो त्याग तपस्या अनि समर्पणले आज तिम्रा सन्तानहरू यस धर्तीमा उभिन लायक बनेका छन् । आफ्नै बलबुतामा सङ्घर्ष गरिरहेका छन् । प्रतिस्पर्धात्मक युगमा निडर र निष्कलंक रूपमा कसैसंग नझुक्ने , नडराउने कसम खाई तिम्रो शिर ठाडो पार्न लगातार कर्तव्यपथमा अगाडि बढिरहेछन् ।  तिमीले आफ्नो पर्बाह नगरी आफ्ना सन्तानहरू लाई यस लायकको बनायौ तिमीलाई मुरी मुरी धन्यवाद।
आज तिमीले जन्माएका बचेराहरू गुँड छोडेर कोही जन्म भूमिमा त कोही परदेशमा  तिम्रो आशीर्वाद अनि उपदेशहरूलाई आत्मसात् गर्दे सङ्घर्ष गरिरहेका छन् । बालककालमा दिन भर मेलापात / घाँस दाउरा अनि घरको सम्पूर्ण काम सकेर आराम गर्ने समयमा शयनकक्षमा बसेको बेला खोकिलामा राखी कपाल मुसार्दै सिकाएका सत्य र निष्ठाका कुराहरू अझैपनि मेरो मानसपटलमा ताजै छ । प्रत्येक दिन आफ्नो कार्यथलोमा पुग्नुभन्दा अगाडी ती तिम्रा अमृतमयी उपदेशहरू सम्झन्छु,मनमनै सम्झी तिमीलाई नमन गर्छु अनि त्यसैलाई मनन गर्दै अगाडी बढिरहेको छु आमा ! मैले तिम्रो उपदेश रत्तीभर पनि भुलेको छैन । तिम्रो विश्वासलाइ कुनै पनि हालतमा डगमगाउन दिएको छैन । जब कुनै आपत आइपर्छ म तिमीलाई सम्झन्छु अनि मनमनै प्रार्थना गर्छु अचम्म ! मेरो आपत आपसेआप टर्छ । साँच्चै आमा त्यो तिम्रो शब्दमा दम छ, तागत छ, शक्ति छ ।
अथाह माया र चाहत भएपति, तिम्रो खोकिलामा लुटपुटिई दुःख सुख साटेर सँगै जीवन निर्वाह गर्ने चाहना मनभरी भए पनि मजबुरी र बाध्यताले गर्दा म तिमीबाट टाढा बस्न विवश छु । तरपनि मेरो आमा तिमिले हामीहरू साना हुँदा दुःखजिलो गरेर आफ्ना सम्पूर्ण इच्छा चाहना अनि रहरहरूको आहुती दिई जीवनभरिको सम्पूर्ण मेहनत, त्याग, तपस्या, अति मातृवात्सल्य छताछुल्ल पारी ताते ताते गर्दै हुर्काएको अनुभूति अहिले पनि ताजै छ ।

सपनामा जहिले पनि म तिम्रो सुन्दर काखरुपि छहारीमा लुटुपुटिरहेको पाउँछु । प्रत्येक दिन, प्रत्येक पल तिम्रो त्यो सुन्दर अनुहार, ममताले लवालव भरिएका सुन्दर, निश्छल अनि निष्कपट आँखाहरू, तिम्रा त्यो शीतल स्पर्श, लाड प्यार गरेर टाउको सुम्सुम्याई सुम्सुमाई भाइ म लगायत मेरा ती ३ बहिनीहरूलाई खोकिलाको न्यानो तापको रापले तताएर “लोरी गाउँदै” स्वर्गिय आनन्दको अनुभूति गराउँदै निद्रादेवीको काखमा लुटपुटाएको त्यो मिठो क्षणको स्मरण अझैपनि जस्ताको यस्तै छ ।

मलाई थाहा थियो तिमी घरकी जेठी बुहारी थियौ । पारिवारिक रूपले पनि सम्पूर्ण जिम्मेवारी सबै तिम्रो काँधमा थियो । घर परिवार श्रीमान्,सासु/ससुरा देवर/देवरानी लगायत ४ जना नन्दहरू सबैको चित्त तिमिले नै बुझाउनु थियो । तरपनि तिमी खुसी नै थियौ,सबैको चित्त बुझाउन कुनै पनि कसर बाँकी नराखी एक आदर्श बुहारी बनेर माइतीको ईज्यत धानेर बस्यौ । मलाई थाहा छ म त्यसको एकमात्र जिउँदो जाग्दो साक्षी हुँ। तिम्रो हाँसोमा कतिपटक मुस्काएको छु ,रोदनमा कतिपटक सँगै रोएको छु । परिस्थितिले साथदिएसम्म तिम्रो पिडा छाम्ने कोसिस धेरैपटक गरेको छु । कठिन आँधिबेहरीलाई तृण बराबर नठानीकन निरन्तर कर्तब्यपथमा लम्किरहने तिम्रो त्यो दृढ अठोट,निस्वार्थ माया,ममताको सागरमा आफूलाई हराएर कैयौँ दिनरात सँगै बिताएका यादहरु मानसपटल भरी ताजै छन् ।

मलाई थाहा छ तिमी माइतीमा सुख सयलमा हुर्केकी परिवारकी कान्छी छोरी बिहे गरेपछि तिम्रा दिनहरू क्रमशः दुखको सागरमा डुब्दै गए । हुन त कुल खानदानकै बुहारी बनेर भित्रिएकी थियौ । तर खेतीपाती नै मुख्य पेसा भएकोले खट्नैपर्ने बाध्यता थियो । तरपनि तिमी अनपढ भने थिईनौ । नेपाली राम्रोसँग पढ्न सक्थ्यौ । म तिम्रो कोकिल कण्ठबाट निस्केका श्लोकहरू,हिन्दी गीतहरू,अनि विभिन्न भजनहरू सुनेर मेरो बालमस्तिष्कमा एक प्रकारको तरंग पैदा हुन्थ्यो । शरीरमा उत्साह र उमंगको  रक्त सञ्चार हुन्थ्यो जसले मेरो मनले हमेशा सकारात्मक नै सोच्थ्यो । तिम्रो सिको गरेर भविष्यमा आफूलाई एक कुशल गायक बन्ने सपना भित्रभित्रै बुन्ने गर्दथें । समग्रमा भन्नुपर्दा म तिम्रो कलाकारिताप्रति फिदा भइसकेको थिएँ ।

अक्सर तिम्रो दिनचर्या बनपात/ घाँस दाउरा मै बित्दथ्यो । घाँस दाउरा गर्दा मुनामदन,गौरी खण्डकाव्यका श्लोकहरू तिम्रो मुखारबिन्दबाट सुन्दा म आफूलाई छुट्टै संसारमा डुबुल्की मारिरहेको पाउथें । मेला पात गर्दा भेट्टाएका चिजबीज जस्तै गोलकाँक्री,खनायो, पानी अमला,रुख अमला, तिंदु, चुत्रो,काफल, ऐसेंलु सालको पातमा पोको पारी मेरा छोराछोरीले खान्छन् भनी पटुकीमा बाँधेर ल्याउँथ्यौ । अनि सबैलाई बाँडी चुँडी खान दिन्थ्यौ । तिम्रो मायाले दिएका चिज हामीहरूका लागी अमृत समान थिए । हामी सबै खुसी हुँदै खान्थ्यौँ । ती सुनौला पलहरू………तिम्रो त्यो अगाध माया ममताको सागरमा डुब्दै तिमीले ल्याएका चिजबिजहरू बाँडिचुँडी खाएको दिन आजपनि झल्झली याद आउँछ ।

मामाघर जाँदा भाइलाई बुईमा बोकी मलाई डोर्याएर खोला पार गरेको दिनहरू………बिरामी हुँदा रुँदै फहराउँदै काखमा च्यापेर उकाली र ओराली गर्दै अस्पताल पुर्याएको क्षणहरू सबै अहिल्यै हो कि जस्तो लाग्छ । आफ्नो हैसियतले भ्याएसम्म शिक्षाको उज्यालो घामबाट सिंचित गरी आज तिम्रै सम्मानमा २.४ शब्द कोर्न लायक बनायौ मेरी आमा……तिमीलाई कुन शब्दले धन्यवाद दिऊँ ? म सँग शब्दहरू नै छैनन् । आमा विभिन्न भाषामा तिमीलाई जुन रूपले सम्बोधन गरे पनि वास्तविक रूपमा तिमी हाम्री आमा हौ, संसारकै राम्री आमा हौ आमा तिमी शक्तीस्वरुपा हौ, भक्ति हौ, तिमी शान्तिकी प्रतीक हौ तिमी क्रान्ति हो, ऐश्वर्य हौँ ,धर्ती हौँ । तिम्रो महिमा अपरम्पार छ । बालसुुभल मनोभावना बुझ्ने ……..आँ गर्दा अलंकार बुझ्ने) आखिर तिमी मेरी आमा हौ …….

“ मातृवात्सल्य रित्तिन्न जस्तै टाढा भएपनि
बचेरा गुँड छाडेर जति टाढा गएपनि ”

मेरी आमा ! जति दुःख हण्डर ठक्कर खाएरपनि तिमिले आफ्ना पाँच सन्तानहरूलाई बराबर माया गरेर पालना पोषण गर्‍यौ । तिम्रो छत्रछायाँमा हुर्कायौ हुर्कायौ, बढायौँ, बिहेदान गयौ । आज आ–आफ्नो मजबुरी र बाध्यताले गर्दा हामीहरू तिमीसँग छैनौ तरपनि तिमीले हामीलाई गर्ने माया र आशीर्वाद सधैँ हाम्रो साथमा रहिरहेको छ । आफूलाई मेटाएर दुःख सुखको पर्वाह नगरी तिमिले सधैँ हामीहरूलाई सबल र सक्षम बनाउन अहोरात्र  खट्यौ । रुघाखोकी र जरोजस्ता सामान्य बिमारीहरू लाग्दा पनि आँखाबाट अनमोल आँसुका धारा झार्दै रातभर जाग्राम रहेर निधारमा पानी पट्टि लगाएर बस्थ्यौ । आमा तिम्रो त्यो शीतल स्पर्शले आधि रोग आफैँ निको हुन्थ्यो । तिम्रो त्यो सन्तान प्रतिको निस्वार्थ प्रेम, अगाध माया, त्याग तपस्याको अगाडी जस्ताजुकै जटिल समस्याहरुपनि छुःमन्तर हुन्थे ।
आमा ! तिम्रो त्यो तपस्यालाई मापन गर्न यस संसारमा कुनै यस्तो यन्त्र छैन । जसका सहाराले म तिम्रो निस्वार्थ बलिदानको मोल गर्न सकूँ । जसलाई तौलिन सकूँ । साँच्चीकै म तिम्रो जुग जुग सम्म ऋणी छु आमा ! ……….।

आमाको रूप बिग्रिन्छ सन्तान जन्मपछि !
सन्तान पर भई जान्छन् डोलीमा अन्मिएपछि !!
तै पनि हुन्छ त्यो सारा आमाको निम्ति गौरब !!!
आमा निस्वार्थ देवी हुन् कसरी भन्नु अब !!!!

मेरी आमा ! आफ्नो रूप र सौन्दर्यको तृण बराबर ख्याल नगरी पितृसत्तात्मक परिवारको बंश कायमका लागी तिमीले सन्तान जन्मायौ । मलाई थाहा छ सन्तान जन्माएर, दूधको लाम्टो चुसाएर, हुर्काउँदा, बढाउँदा त्यो तिम्रो सुन्दर शरीर, त्यो आकर्षण त्यो सौन्दर्य, छिया छिया भइसकेको छ । तरपनि तिमी आफ्नो शरीर र सौन्दर्यको रत्तीभर ख्याल नगरी निरन्तर आफ्ना सन्तानहरूको रेखदेख संरक्षणमा लाग्यौ । तिम्रा ती सन्तानहरूको उन्नति देखेर तिमीलाई गर्व छ । तिमी हर्षले गद्गद छ्यौ । तिमी छोराछोरीको उन्नति र प्रगतिमा नै आफ्नो प्राण त्याग्न तपर हुन्थ्यौ त्यसैले आमा तिमी धन्य छौँ । माया र ममताको शीतल छहारीमा आफ्ना वंशजहरूलाई अटाउने र आफ्नो खुट्टामा आफैँ उभिसक्ने बनायौ तिम्रो कोखबाट जन्मन पाएकोमा  हामीलाई गर्व छ आमा !

मेरी आमा ! तिमी धन्य छौँ !! मेरो लागी तिमी निस्वार्थ पवित्रताको देवी हौ म तिमीलाई पूजा गर्छु । तिम्रो त्याग, सम्पूर्ण र बलिदानको कदर गर्दै आज तिम्रो सम्मानमा यी २ शब्दहरू कोरिरहेछु । भन्छन् बाबु मरे आधा टुहुरो रे, आमा मरे पुरै टुहुरो रे । त्यसैले आमा ! तिम्रो अनुपस्थितिमा मेरो जीवन मरेतुल्य छ । तिम्रो अवसानपछिको जीवन कल्पना पनि गर्न सकिन्न । तसर्थ तिम्रो गुणगान गाएर साध्य छैन ।
“जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी” ।

आमा तिमी मेरो लागि महान छ्यौ । आफूलाई जन्म दिने आमा र आफू जन्मेको भूमि स्वर्ग भन्दापनि प्यारो हुन्छ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै पवित्र शब्द “आमा” कहिल्यै पनि कलंकित र अपमानित नहोस् । आफ्ना सन्तानहरूले पनि आमाको महत्व र महिमाको ख्याल गरी आफ्नो जन्मभूमि र जन्मदिने आमालाई सम्मान गरुन् माया गरुन् एवं ईज्यत गरुन् । मृत्युपर्पन्त पनि आमा र जन्मभूमिलाई कसैले नभुलोस् । मुलुक र आमाको संरक्षण सबैले गरुन् जय माता !

अस्तु :

मिति :२०७०/०२/२९
dastawejnews@gmail.com

    Comment Here!